राष्ट्रिय

जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चालन गर्ने तयारी

0Shares

काठमाडौ,वैशाख ६: सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ ।
त्यस्तै, भारतबाट २६ जना दक्ष जनशक्ति यही हप्ताभित्र आइपुग्ने निश्चित भएको छ । रेल सञ्चालनमा आउनुअघि कर्मचारीलाई दुई हप्ताको तालिम दिने कार्यक्रम छ । २५ वैशाखभित्र तालिमको काम सकेर रेल सञ्चालन गरिने तयारी छ ।‘कुनै कारणले रोकिएमा जेठ पहिलो हप्तासम्म लम्बिएला, अन्यथा वैशाखभित्र नै रेल सञ्चालनमा ल्याउने हो,’ महाप्रबन्धक भट्टराईले भने । पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ । सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, तत्काल जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । चालू आर्थिक वर्षभित्र नै थप १७ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि रेलमार्ग तयारी भइसकेको छ । यसपछि रेल सञ्चालन हुने लम्बाइ ५१ किलोमिटर पुग्नेछ । बिजलपुरादेखि–बर्दिवास १८ किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्तिको काम अझ सकिएको छैन ।

0Shares