जेठमा पनि १० प्रतिशत ब्याज छुट दिँदै एनआईसी एशिया लघुवित्त
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले जेठमा पनि आफ्ना ऋणीलाई ब्याज रकमका छुट दिने भएको छ । जेठ मसान्तसम्ममा चुक्ता गर्नुपर्ने किस्ता तथा ब्याज रकम समयमै भुक्तानी गर्ने ऋणीलाई ब्याजमा १० प्रतिशत रकम र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने संस्थाले बताएको छ ।
चैत मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरेपछि हुन आउने ब्याज रकममा समेत १० प्रतिशत अतिरिक्त छुट प्रदान गर्ने संस्थाको भनाई छ । यो सुविधा सम्पूर्ण कर्जाहरूमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महीनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने संस्थाले जानकारी दिएको छ ।
राष्ट्र बैंकले वैशाख १६ गते जारी गरेर कोरोनाबाट ऋणीलाई परेको प्रभाव न्यूनीकरण गर्न चैत मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको थियो । उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एन्ड केमिकल्स, औषधि विक्रीवितरण, दुरसञ्चार सेवाप्रदायक, टेलिभिजन सेवाप्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् परियोजनाहरू जस्ता क्षेत्रका ऋणीले पाउने छैनन् ।
Source:Abhiyandaily