राष्ट्रिय

ज्ञवाली लाई प्रहरी नेतृत्व

0Shares

 सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए । आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि थिए । तर ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।

आईजीपीमा नियुक्ति भएलगत्तै ज्ञवालीले प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गरे । खनालसहित तीन एआईजी र १८ डीआईजीले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाएका छन् । प्रदेश १ का प्रहरी प्रमुख ज्ञवाली आईजीपीमा बढुवा हुने निश्चित भएपछि मंगलबार मात्रै विराटनगरबाट काठमाडौं आएका थिए । २०४७ असार २५ गते निरीक्षकमा प्रहरी सेवा प्रवेश गरेका उनले आगामी असार २४ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले त्यसपछि अवकाश पाउनेछन् । उनीपछि २०४९ सालमा सेवामा प्रवेश गरेका अधिकृतहरूमध्येबाट आईजीपी हुनेछन् ।
यसअघि एआईजीहरूमध्येबाट आईजीपी चयन हुँदै आएकामा वैज्ञानिक वृत्तिविकास प्रणालीको अभावमा डीआईजीबाटै नेतृत्व चयन गर्ने बाध्यता सरकारसँग थियो । यसअघि खनाल र प्रकाश अर्याल पनि डीआईजीबाट आईजीपी भएका थिए । प्रहरी नियमावली २०७२ को दफा ४१ मा ‘प्रहरी अतिरिक्त महानिरीक्षक र अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायब महानिरीक्षकबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ’ भनिएको छ ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रूपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्यूठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते निरीक्षकमा सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । ज्ञवाली मंगलबार अवकाश पाएका आईजीपी खनालसँगै सेवा प्रवेश गरेका थिए । तर त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमा राखिएपछि ज्ञवालीलाई ५ महिनापछि असार २५ गते मात्रै नियुक्तिपत्र दिइएको थियो ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत मुलुकमा बसेर पनि सेवा गरेको अनुभव उनीसँग छ । उनी २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका थिए । एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्युरो र बुटवल प्रहरी तालिम केन्द्रको ‘कमान्डेन्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा, महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए । आर्थिक विवादमा नआएका ज्ञवाली सञ्चारमाध्यमसँग त्यति नखुल्ने स्वभावका अधिकृतका रूपमा चिनिन्छन् ।

Source: Kantipur

 

0Shares