Uncategorizedराष्ट्रिय

दाहाल र नेपाल समूह पेरिस डाँडामा भेला

0Shares

काठमाडौं, ३ पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला कार्यकारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले जिल्लास्तरीय नेताहरुलाई काठमाडौं बोलाएको छ ।

यसअन्तर्गत शुक्रबार प्रदेश नं. १ का १४ वटा जिल्लाका अध्यक्ष र सचिवहरुहरु पेरिसडाँडा पुग्ने एक केन्द्रीय नेताले बताएका छन् । उनका अनुसार सबै प्रदेशका जिल्लाहरुका अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएर क्रमशः छलफल गरिनेछ ।

‘खासगरी पछिल्लो राजनीतिक अवस्थाबारे पार्टी नेतृत्वको बुझाइ र आफ्नो रणनीतिबारे जानकारी त गराउनुपर्यो नि त’, नेताले भने, ‘पछिल्लो समयको राजनीति घटनाक्रमबारे जानकारी नै मुख्य उद्देश्य हो ।’ पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भई उक्त भेलामा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे सहभागीहरुलाई ब्रिफिङ्ग गर्ने छन् ।

यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत दाहाल-माधव नेपाल पक्षले गरिसकेको छ। पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । दाहाल-नेपाल पक्षले विद्यार्थीको भेला समेत विभिन्न प्रदेशमा गरिसकेको छ ।

सरकारले पछिल्लो पटक ल्याएको संवैधानिक परिषद्सम्बन्धीअध्यादेशसँगै नेकपा विवाद झनै उत्ष्कर्षमा पुगेको छ । अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएसँगै दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति भएको थियो ।

गत १ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा ओलीले अध्यादेश फिर्ता लिने बताएपनि अझैसम्म फिर्ता भएको छैन । बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारेको छलफलले प्रवेश नै पाएको थिएन ।

0Shares