राष्ट्रिय

देशभर मनसुनी वायुको प्रभाव

0Shares

काठमाडौ,असार २५: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । केही दिन मौसममा सुधार नहुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कणेलले जानकारी दिइन् । उनका अनुसार बागमती र गण्डकीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चितवनमा वर्षा भएकामा शुक्रबार बिहान भने बागमती र गण्डकीका सबै क्षेत्रमा भारी वर्षा भइरहेको हो । कणेलले शुक्रबार बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकामा २७.१ मिलिमिटर वर्षा भएको जानकारी दिइन् । उनका अनुसार आइतबारसम्मै वर्षा भइरहने छ । भनिन्, ‘तत्काल मौसममा सुधार हुने अवस्था छैन । आइतबारसम्मै भारी वर्षा हुनेछ । मनसुन सक्रिय भएकाले यो लम्बिने छ ।’
महाखाशाले देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुनाले सचेत रहन आग्रह गरेको हो । निरन्तरको वर्षाका कारण धेरैजसो राजमार्ग र सडकखण्डहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।

0Shares