राष्ट्रिय

देशभर मनसुनी वायुको सक्रिय प्रभाव

0Shares

काठमाडौ,असार १७ : हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन– चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मात्र भारी वर्षा भएको छ । अन्य स्थानमा फाटफुट वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिममा फाटफुट वर्षा भए पनि सक्रिय हुने सम्भावना कमै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

अहिले सबैभन्दा बढी वर्षा चितवन, तनहुँ, लमजुङ, मकवानपुर, सिन्धुली र बारामा भइरहेको छ । काठमाडौ उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ३६.८ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनले उपत्यकामा दिउँसोसम्म निरन्तर वर्षा हुने बताइन् । अन्य क्षेत्रमा पनि निरन्तर दिउँसोसम्म वर्षा हुनेछ । केही स्थानमा पातलो घाम लाग्नेछ । उनले शनिबारसम्मै वर्षा हुने जानकारी दिइन् । यसअघि मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म वर्षा हुने जनाएकामा बिहीबार बिहान जारी गरेको बुलेटिनमा शनिबारसम्मै वर्षा हुने जनाएको छ । त्यसैगरी भारी वर्षा हुने प्रदेशहरुको पहाडी भू–भागमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

0Shares