धितोपत्र बोर्डद्वारा शेयर बजार सुचारु गर्न जारी सवै सवारी पास रद्द
नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसका कारण जारी लकडाउनकाबीच वैशाख ३० गतेदेखि शेयर बजार सुचारू गर्न जारी गरेको सवै सवारी पास रद्द गरेको छ ।
शेयर बजार सम्बद्ध निकायहरुमा एक तिहाई कर्मचारी उपस्थित हुने गरी नियामक निकाय बोर्डले सवारी लगायतका पास दिएको थियो ।
बजार सुचारू भएको दुई दिनपछि जेठ १ देखि ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएकाले वैशाख ३१ गतेसम्म जारी सबै पास रद्द गरिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए ।
उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र व्यवसायी लगायत संस्थाहरुलाई जारी गरेको सबै पास रद्द भएको बताए । उनका अनुसार अति आवश्यक सेवा सञ्चालन हुने संस्थाको लागि जेठ १ गतेदेखि नयाँ पास जारी गरिएको छ ।
लकडाउनका बीच खोलिएको शेयर बजार दुई दिननै नकारात्मक सर्किटको प्रभावमा परेको थियो । कोरोनाको जोखिम बढ्दै गएकाले लगानीकर्तालाई सहज तरिकाले कारोबारमा सहभागि गराउन समस्या हुने भन्दै बजार बन्द गरिएको हो ।
आगामी आर्थिक वर्षदेखि अनिवार्य अनलाईन प्रणालीमार्फत कारोबार गराउने व्यवस्था गर्दै हाललाई अनिवार्य नभइ प्रोत्साहन गर्ने भन्दै अनलाईन कारोबारलाई प्राथमिकतामा राखी बजार खोलिएको थियो ।
हाल १ प्रतिशतभन्दा बढी मात्र लगानीकर्ताहरु अनलाईन कारोबारमा सहभागी भएकाले बजारले राम्रो गति नपाएको विश्लेषकहरुको भनाइ छ ।
Source:Abhiyan