पुंजीबजार

नयाँ ब्रोकरलाई लाइसेन्स दिने तयारी

0Shares

काठमाडौ,जेठ २७ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले नयाँ ब्रोकरलाई लाइसेन्स दिने तयारी भइरहेको बताउनुभएको छ । बोर्डको २९ औं वार्षिक उत्सवमा बोल्दै ढुंगानाले कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशिल बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवर्द्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । उहाँले बढ्दो माग तथा आपूर्ति प्रभावकारी रूपमा व्यवस्थापन गरी बजारको विश्वसनीयता अभिबृद्धि तथा बढ्दो जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेञ्जलाई प्रतिष्पर्धी बनाउन आवश्यक पहल गर्नुपर्ने देखिएको बताउनुभयो ।
हालको दोस्रो बजार सञ्चालक नेप्से र केन्द्रीय निक्षेप सेवा तथा कारोवारको राफसाफ तथा फर्छयौट सेवा प्रदायक सिडिएससिको संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शिघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिने उहाँको भनाइ छ । उहाँले समग्रमा हामी धितोपत्र बजारलाई प्रतिष्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमइ को लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी यर्थाथपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पूँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाकासाथ अघि बढेको बताउनुभयो ।

0Shares