राष्ट्रिय

नारायणकाजीले पनि गरे मन्त्री हुने मन

0Shares

काठमाडौ,असार ३१: पाँच दलीय गठबन्धनको मूख्य घटक नेकपा माओवादी केन्द्रबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने बारेमा तछाडमछाड शुरु भएको छ । कांग्रेससँगको सहकार्यमा माओवादी केन्द्रको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले मन गरेको भएपनि प्रचण्डले तत्काल मन्त्रालय नटुंगिएको भन्दै रोकेपछि विवाद शुरु भएको हो ।मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तत्काललाई जनार्दन शर्मा र पम्फा भुषाललाई मात्रै मन्त्री बनाएर पठाउने, अहिले मन्त्रालय टुंगो लागिसकेको छैन भनेपछि सरकारको नेतृत्व जनार्दन शर्माले नै गरेका हुन् कि भन्ने अनुमान गरिएको छ । तर परराष्ट्र, भौतिक योजना जस्ता महत्वपूर्ण मन्त्रालय बाँकी रहेकाले त्यसमा माओवादीले उपप्रधानमन्त्रीसहित दाबी गरिरहेको छ । ‘उपेन्द्र यादवले पनि उपप्रधानमन्त्रीसहितको महत्वपूर्ण मन्त्रालय दाबी गरेकाले माओवादीमा श्रेष्ठले सम्हाल्ने मन्त्रालय बाँकी नरहने हुँदा उनको सरकारमा जाने रहर मात्रै होला’, माओवादी निकट स्रोतले भन्यो ।
माओवादीमा पहिलो चरणमै मन्त्री हुन खोजेका देवेन्द्र पौडेललाई पनि मन्त्रालय नटुंगिएको भन्दै रोकिएको छ । रामबहादुर थापा बादल समूहबाट प्रचण्ड खेमामा आएकी भुषाललाई र प्रचण्डका विश्वासपात्रका रुपमा रहेका शर्मालाई भने पहिलो चरणमै मन्त्री बनाएर पठाइएको छ । शर्माले गृहमा रहर गरेको भए पनि गृह कांग्रेस आफैंले राखेपछि शक्ति सन्तुलनका लागि माओवादीलाई अर्थ र उर्जा जस्ता महत्वपूर्ण मन्त्रालयल दिइएको छ । माओवादीले परराष्ट्र र भौतिक योजना पनि मागिरहेकाले नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने संभावना रहेको छ । ‘नारायणकाजी श्रेष्ठको रहर परराष्ट्र र भौतिक योजना मन्त्रालयमा पनि छ यी दुईमध्ये एक मन्त्रालय पाए उहाँ उपप्रधानमन्त्रीसहित सरकारमा जाने संभावना रहेको छ’, माओवादी निकट स्रोतले भन्यो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका मन्त्रीलाई माओवादीले यसपटक प्राथमिकतामा राखेको छैन । वर्षमान पुन, शक्ति बस्नेत, बिना मगरलाई मन्त्री नबनाउने प्रचण्डले देव गुरुङ, चुडामणी खड्कालाई मन्त्री बनाउन चाहिरहेका छन् । हरिबोल गजुरेल पनि मन्त्री बन्ने लाइनमा भए पनि नेकपा कालमा ओलीतिर निकट रहेकाले उनलाई प्रचण्डले परीक्षणकालमा राखेको स्रोतको दाबी छ । प्रचण्डकै पूर्व बडीगार्ड हेमकुमार राई पनि मन्त्रीका लागि दौडधुप गरिरहेका छन् । यद्यपि उनीभन्दा सिनियर गणेशमान पुन र उनकी श्रीमती कमला रोका मगर पनि मन्त्री माओवादीबाट मन्त्रीको दाबी गरिरहेका छन् ।

0Shares