निसानामा मिडीया
काठमाडौ,फागुन १०: हिजो युथ फोर्स खडा गरेर आक्रमण–प्रत्याक्रमणका लागि उत्रिएको युवा सङ्घले परिवर्तित सन्दर्भमा ‘साइबर सेना’ गठन गरेको बताएको छ ।जनआन्दोलनका र नेपाली मौलिक कम्युनिस्ट आन्दोलनले आर्जन गरेका उपलब्धि क्षतविक्षत पार्नेगरी केही अवाञ्छित तत्त्वहरू लागि परेकाले साइबर सेनाको आवश्यकता बोध भएको सङ्घ नवनियुक्त अध्यक्ष वचनबहादुर सिंहले जानकारी दिए ।
पार्टीको विद्यार्थी मोर्चा अनेरास्ववियु हुँदै युवा सङ्घमा प्रविष्ट उनले भने, “अहिले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, व्यक्ति–संस्थाको मानमर्दन गर्ने, राज्यका अङ्गहरूको हुर्मत लिने, चरित्र हत्या गर्ने र यसले दर्जनौँ मानिसले आत्महत्या गर्नेजस्तो परिस्थिति निर्माण भएको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भको रूपमा राष्ट्रपति संस्था रहेको छ । पात्र को छ त्यो बेग्लै कुरा हो तर राष्ट्रपति त गणतन्त्रको प्रतीक हो नि, त्यही संस्थालाई बारम्बार आक्रमण गर्ने काम भइरहेको छ । यसको प्रतिरक्षाका लागि साइबर सेनाको आवश्यकता महसुस गर्यौँ ।”उनले प्रधानमन्त्रीलगायत सरकारका अङ्गहरूलाई लाञ्छित गर्ने, बदनाम गर्ने कार्यमा केही मिडियाकर्मी, प्रबुद्ध समुदाय भनिएकाहरू, बुद्धिजीवी, नागरिक समाजको आडमा केही मानिसहरू सक्रिय रहेकाले उनीहरूलाई निरुत्साहित तुल्याउन साइबर सेना गठन गर्न लागिएको बताए साइबर सेनाले सामाजिक सञ्जाललाई नियमन गर्न सघाउने वचनको भनाइ थियो ।
“हामी राज्यको कानुन, नीति–नियम हातमा लिएर होइन, बरु यसको नियमन गराउन राज्यको सहयोगी भूमिकामा रहेर कार्यसम्पादन गर्छौं,” उनले भने, “त्यसका लागि आचारसंहिता, कार्यविधि बनाएर व्यवस्थित ढङ्गले कार्यसम्पादन गर्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र, यसका उपलब्धिहरूको रक्षार्थ युवा सङ्घ सदैव तत्पर छ ।”उनले सामाजिक सञ्जालमा सरकाविरुद्ध भ्रम फैलाउने, अवाञ्छित कुराहरू पोस्ट गर्ने, भाइरल बनाउने गिरोह नै रहेको र तिनीहरू अमुकअमुक ठाउँबाट परिचालित नै रहेको जिकिर गरे ।“कोही व्यक्ति बारम्बार किन सरकारमाथि आक्रमणमा उत्रन्छ, स्तम्भकारका नाममा सदैव किन प्रस्तुत हुन्छ । उनका अभिव्यक्ति किन सरकार र गणतन्त्रप्रति विद्वेष फैलाउने खालको हुन्छ ? यसको निगरानी त गर्नुपर्यो नि,” उनले साइबर सेनाको औचित्य पुष्टि गर्ने प्रयत्न गर्दै भने, “गणतन्त्र र यसका उपलब्धि, सरकारले गरेका सकारात्मक कामहरूमाथि पनि आक्रमण भइराख्छ भने हामी त्यतिबेला मौन बस्न सक्दैनौँ ।”उसले साइबर सेना छुट्टै अङ्गका रूपमा नभइ तहगत कमिटीमा एउटा इकाइका रूपमा रहने र सङ्गठनको निर्देशन पालना गर्दै कार्यसम्पादन गर्ने पनि जानकारी दिए ।“अभिव्यक्ति स्वतन्त्रका नाममा सेतो साडी लगाएर चुनाव लड्ने भन्दै धार्मिक आस्था, विश्वासमाथि आघात पुर्याउने काम आफूलाई नेता हुँ भन्नेबाटै भइरहेको छ । सेता साडी लगाउनु एलक महिलाहरूको अपराध हो ? के भन्न खोजेको रामकुमारी झाँक्रीले ?,” उनले भने, “राष्ट्रपतिलाई कहाँ गएर बस्नुस् भन्नुभयो उहाँले । यस्ता खालका छाडा, उद्दण्ड, अराजनीतिक, संस्कारहीन, समाज भडुँवा आचरण तह लगाउन साइबर सेना गठन गर्न लागिएको हो ।