नेकपाको सरकार विरुद्ध प्रदर्शन
काठमाडौं, पुस १४ : प्रतिनिधि सभा विघटनकाे विराेधमा नेकपा (प्रचण्ड-माधव समूह)ले आज देशव्यापी विरोध प्रदर्शन गर्न लागेको छ।
यस समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिने बताइएकाे छ ।बिहान ११ बजेदेखि उपत्यकाका नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने जनाइएकाे छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएकाे छ ।
यसैगरी मजदुरहरूकाे जुलुस रत्नपार्कबाट र त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थीहरूको जुलुस समेत शुरू हुनेछ । युवाहरूकाे जुलुस भने बागबजारबाट शुरू हुनेछ । उपत्यका आसपासका जिल्लाहरूबाट हुने प्रदर्शन पनि काठमाडौंमा नै केन्द्रित गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाे भन्दै प्रचण्ड-माधव समूह आन्दाेलनमा उत्रिएकाे हाे । यस समूहले असली नेकपा आफू भएकाे र बहुमत केन्द्रीय सदस्यहरू यसै समूहमा रहेकाे दाबी गरेकाे छ ।