राष्ट्रिय

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन–डब्ल्यूएचओ

0Shares

काठमाडौ,जेठ २० : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको स्पष्ट गरेको छ । बेलायतस्थित एक अनलाइन पत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर प्रकाशित गरेपछि डब्लुएचओले नेपालमा त्यस्तो कुनै प्रजाति भेरियन्ट नभेटिएको प्रष्ट गरेको हो । बेलायती ट्ब्लोइड अखबार डेलीमेलले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकाले बेलायतीको छुट्टी समेत प्रभावित बन्न सक्ने समाचार प्रकाशित गरेपछि थुप्रैं अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले खबर दिएका थिए । यस्तो समाचार विश्वव्यापी बनेपछि डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रष्ट गर्दै भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।यसैबीच, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावी गरिएकाबारेमा बेलायत सरकारसँग जानकारी मागेको छ ।

https://www.facebook.com/WorldHealthOrganizationNepal/posts/327124185634064

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको छ । नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दावीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट गर्नुभयो ।

0Shares