राष्ट्रिय

नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै

0Shares

काठमाडौ,फागुन १३: पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ। सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्। देउवाका सहयोगी भानु देउवाका अनुसार आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसदलाई सर्वोच्च अदालतले बदर गरेपछि ओली नेतृत्वको सरकार संकटमा परेको छ । ‘सर्वोच्च अदालतको फैसला आएपछि एकप्रकारले सरकार संकटमा भइसक्यो’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘सरकारलाई योभन्दा ठूलो राजनीतिक संकट, नैतिक संकट अरु के हुन्छ ?’त्यसकारण यतिबेलासम्म प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिइसकेको हुनुपर्ने खनालको विश्लेषण छ ।
बैठकमा पार्टीका पूर्व पदाधिकारीहरु समेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

0Shares