राष्ट्रिय

नेपाली कांग्रेससहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

0Shares

काठमाडौ,चैत २७: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित तीन दलका शीर्ष नेताको बैठक आज दिउँसो बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी समान धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ ।बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू सहभागी हुनेछन् कांग्रेस सभापति लेउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र समर्थन फिर्ता सँगसँगै संसदमा पेश गर्न सहमत भएको स्रोतले बतायो । यसमा राजपाको धारण बुझेर तीन दलले एकसाथ अविश्वासको प्रस्ताव पेश गर्ने उनीहरुको तयारी छ ।तर राजपा भने ओली सरकारलाई नै साथ दिने या अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने भन्नेमा ठोस निर्णय दिन सकेको छैन । आजको बैठकमा राजपाले गर्ने निर्णयले ओली सरकारको भविष्य निर्धारण गर्ने भएको छ ।

मुख्य तीन राजनीतिक दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच सरकार गठन गर्ने विषयमा सुरुदेखि नै संवाद जारी छ । संसद्मा सरकार गठनका लागि एक सय ३८ सिट आवश्यक पर्छ । त्यसमध्ये कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ५३ (अब ४९) र जसपासँग ३२ सिट छ । नयाँ सरकार निर्माण गर्ने वा ओली सरकारलाई नै निरन्तर अघि बढ्न दिने भन्नेमा संसद्को अंकगणितअनुसार जसपा निर्णायक शक्ति हो । त्यही जसपाले आफ्नो माग पूरा गराउन ओलीसँगै सहकार्य गर्ने वा कांग्रेस र माओवादी केन्द्रसँग नयाँ सरकार निर्माण गर्ने भन्नेमा ठोस निर्णय नगरिदिँदा समस्या जहाँको तहीँ अल्झिएको छ ।

0Shares