राष्ट्रिय

पशुपतिनाथमा ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने

0Shares

काठमाडौ,फागुन १४: नयाँ डिजिटल प्रविधिको प्रयोग गरि अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । डिजिटल युग संगै क्युआर कोड मार्फत पैसा भुक्तानी गर्ने व्यवस्था पछिल्लो समयमा लोकप्रिय बन्दै गएको छ। पशुपति विकाश कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी सम्झौता भएको छ।

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताउनुभयो । देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैंक अफ काठमाडौँ लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा बिस्तार गर्ने जानकारी दिनुभयो ।

0Shares