राष्ट्रिय

पशुपतिमा यस्तो छ महाशिवरात्रिको तयारी, दुई हजार साधु–सन्त आइसके

0Shares

 यस वर्षको महाशिवरात्रि पर्व आगामी शुक्रबार मनाइँदैछ ।

पशुपति क्षेत्र विकास कोष महाशिवरात्रिको व्यवस्थापनमा जुटिसकेको छ ।

पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भएको छ । हालसम्म भारतबाट दुई हजार साधु–सन्तहरुको आवगमन भइसकेको छ भने थप त्यति नै साधु–सन्त आउने अनुमान गरिएको छ ।

उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि २४ लाख रुपैयाँ विनियोजन भएको छ ।

पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले तीन स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदैछ ।

कोषले भक्तजनहरुको सुरक्षार्थ ६ हजार सुरक्षाकर्मी र यति नै संख्यामा स्वयंसेवक तथा नेपाल स्काउटको प्रबन्ध मिलाउँदैछ ।

शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका लागुऔषध किनबेच र सेवन हुने गरेको तथ्य छिपेको छैन । सुरक्षा व्यवस्थाका बीच लुकिछिपी ‘शिवबुटी’का नाममा गाँजा सेवन गरिन्छ ।

कोषले भने लागुपदार्थको किनबेच र सेवन रोक्ने प्रतिबद्धता जनाएको छ ।

शिवरात्रिको व्यवस्थापनका लागि पशुपति विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल पर्व समिति गठन गरिसकेको छ ।

यस्तै, ११ ओटा उपसमितिसमेत गठन गरिएको जानकारी पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले दिए ।

समिति र उपसमितिले शिवरात्रिको व्यवस्थापन गर्ने बताइएको छ । कोषले महाशिवरात्रिका बेला पनि पशुपति मन्दिरभित्र र वरपर प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

महाशिवरात्रिलाई नेपाल भ्रमण वर्ष २०२० सँग जोड्ने प्रयास पनि भइरहेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको ऐतिहासिक र धार्मिक महत्व विश्वमै चर्चाको विषय हो ।

महाभूकम्पका बेला भत्किएका हिन्दुहरुको पवित्र धार्मिकस्थलका केही संरचनाको पुनःनिर्माणले भने महाशिवरात्रिसम्ममा पनि पूर्णता नपाउने देखिएको छ ।

Source: Imagekhabar

0Shares