अन्तराष्ट्रिय

पाकिस्तानको क्वेटा शहरमा बम विस्फाेट

0Shares

काठमाडौ,वैशाख ९: पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका छन्। बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको हो। उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ। पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विस्फाेटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फाेट भएको थियो। सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विस्फाेटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ।

विस्फाेटको जिम्मा तालिवानले लिएको छ। क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ। बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ। बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ। त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन्। यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग क्वेटा शहरमा रहे पनि सो होटलमा भने थिएनन्।

0Shares