राष्ट्रिय

पार्टी एकता कायम गर्न नेपालको ओलीलाई ६ बुँदे प्रस्ताव

0Shares

काठमाडौ,वैशाख २३ : नेकपा एमालेमा बढ्दो ध्रुवीकरणको सङ्घारमा वरिष्ठ नेता माधव नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव गरेका छन् । उक्त प्रस्ताव अनौपचारिक रूपमा केपी ओलीलाई दिइएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निश्चित भईसकेपछि माधव नेपाल पक्ष सांसदहरूले सामूहिक राजीनामा दिने किसिमका कुराहरू बाहिरिन थालेपछि ओली पक्षलाई शंका लाग्न थालेको छ । यस क्रममा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसका सभापतिलाई समेत गुहारिसकेका छन् । नेपाल पक्षको प्रस्तावमा विश्वासको मत पाउन र पार्टी एकता कायम गर्न आवश्यक कदमहरू बारे उल्लेख गरिएको छ। ओली पक्षले ती बुँदाहरूमा कस्तो प्रतिक्रिया जनाउँछ त्यसमा निर्भर रहनेछ आगामी दिनको नेपाली राजनीति ।

पार्टी एकता कायम राख्ने प्रस्तावहरुः
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।
२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ र त्यसकालागि आयोजक समिति गठन गरौँ ।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।
४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।
५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।
६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।

0Shares