राष्ट्रिय

पाल्पाको विरकोट वलङदीमा ‘पानी क्रान्ति’

0Shares

पाल्पाको पूर्वखोला गाउँपालिका ५ विरकोट वलङदीका ७६ वर्षीय सन्तवीर सिंजालीलाई अहिले सपना जस्तै लागेको छ । बर्षौदेखि पानी बोकेर आएका गाउँका घर घरमा खानेपानीको धाराबाट पानी आएपछि उनलाई सपना जस्तै लागेको हो । उनलाई यसरी पानी आउला भन्ने कल्पना समेत थिएन । अहिले पानी आयो अव एक गाग्री पानीका लागी आधा रातमा उठ्न नपर्दा गाउँमा खुसी छाएको उनले बताए ।


पानीको श्रोत निकै तल छ, डाडामा बस्ती छ जसले गर्दा एक गाग्री खानेपानीको लागी आधा रातमै उठनुपर्ने बाध्यता थियो । एक घण्टा तल खोल्सातिर नपुगे पानी पाइदैन थियो । पालो कुर्दा कुर्दे घाम उदाउथ्यो । गाउँमा पानी आएपछि त्यस्तो अवस्था हटेर गएको स्थानिय महिला बलीसरा गाहाले बताइन् । वलङदी गाउँमा एक सय पन्ध्र घर परिवारका सदस्यहरुको घर घरमा खानेपानीको घरमा धारा जोडिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग स्थानीय बासिन्दाको व्यवस्थापनमा योजना सम्पन्न भएपछि गाउँमा पानीको कष्ठ हटेको स्थानिय बासिन्दा बताउँछन् ।

सबैको घर घरमा खानेपानीको व्यवस्थापन भएपछि खानेपानीको सुविधा मात्र नभई व्यक्तिगत सरसफाईको क्षेत्रमा समेत परिवर्तन भएको छ । खानेपानी कार्यालयको आयोजनामा योजनामा सम्पन्न भएपछि एक घर एक धारा अभियानले गर्दा सबैका घर घरमा पक्की सौचालयको निर्माण भएको छ । जसले गर्दा वातावरणीय सरसफाई देखि वालवालिको शिक्षामा समेत निकै परिवर्तन भएको स्थानिय महिला शान्ति सिंजालीले आफ्नो अनुभव बताइन् । खानेपानी कार्यालयको अवको लक्ष्य एक घर धारा हो त्यहि कार्यक्रम संगसंगै सरसफाईको कार्यक्रमलाई समेत अगाडि बढाइएको खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख शिव कुमार श्रेष्ठ बताउँछन् ।

गाउँमा करेशावारी भन्ने नै थिएन जव सबैका घर घरमा पानीको व्यवस्थापन भयो पहिले तरकारी किनेर खानेहरुले यतिखेर मौसमी तरकारी विक्री गरेर मनग्य आम्दानी गर्न लागेका छन् । घरबाट खेरा गएको पानीलाई आयआर्जनका रुपमा प्रयोग गर्नलागेपछि आर्थीक रुपमा समेत जीवन स्तरमा परिवर्तन भएको स्थानिय महिला पार्वती गाहा बताउँछिन् ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर सिंजाली पनि खानेपानीका कारण समाज अग्रगामी दिशा तर्फ रुपान्तरीत भएको बताउछन् । पानीको समस्याका कारण गाउँ छाड्ने क्रम बढेको थियो तर आजभोली गाउँ फर्कने क्रम तर्फ उन्मुख भएको उनले बताए । गाउँमा योजना सुरु गर्दा सरसफाईको अवस्था निकै दयनिय थियो । शहरबाट गाउँमा पुग्ने नयाँ व्यक्तिलाई बास बस्ने कठिन थियो । जव सबैका घर घरमा पानीका घारा भए तव सरसफाईले समेत मुर्हुत रुप लिएको खानेपानी कार्यालयका प्राविधीक शोभाखर अधिकारीले आफ्नो अनुभव बताए ।

खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी मात्रीका गौतमका अनुसार डवल लिफ्टिीङ्ग खानेपानी यस योजनाका लागी नेपाल सरकारको १ करोड ३४ लाख ६० हजार स्थानिय उपभोक्ताको २६ लाख ४४ हजार रुपैया मध्ये नेपाल सरकारको ९३ लाख ३६ हजार , स्थानिय उपभोक्ताको २३ लाख ५० हजार गरी ११ करोड १६ लाख ८६ हजार रुपैया खर्च भएको छ । यस योजनाबाट १ सय १५ घर परिवारका ८ सय भन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वीत हुने छन् ।

पूर्वखोला गाउँपालिकाले पचास प्रतिशत लक्ष्य हासिल गरिसकेको र बाँकीका लागी तीन वटै सरकार संग समन्वय गरि सबैका घर घरमा खानेपानीको धारा पु¥याउने योजनालाई कार्यान्वयन गरिने वडा अध्यक्ष धन बहादुर सिंजाली बताउछन् ।

Source: Butwal today

0Shares