राष्ट्रिय

प्रचण्ड–माधव समूहले आज राजधानीमा एकलाख मानिस उतार्ने

0Shares

काठमाडौ माघ ९: प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज राजधानीमा एकलाख मानिस उतार्नेगरी कमाण्डरहरु खटाएको छ ।

संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने भनिएको प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय संघर्ष समितले जनाएको छ । संघर्ष समितिद्वारा बिहिबार जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।प्रदर्शनलाई भव्य र व्यवस्थित बनाउन निर्देशिका नै जारी गरिएको छ । केन्द्रीय संघर्ष समितिको संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सात बूँदे निर्देशिका जारी गरेका हुन ।निर्देशिकामा प्रत्येक प्रदेश, जिल्ला, जनवर्गीय संगठन र मोर्चा संगठनहरुले प्रदर्शनमा सहभागिता जनाउने भनेको संख्यामा नघटाउनेगरी अनिवार्य उपस्थिति गराउन निर्देशन दिइएको छ ।जारी निर्देशिकामा हरेक संगठनले सहभागीहरुको सवारी साधन नम्बर,संख्या तथा  सहभागीको  नाम, ठेगाना र फोन नम्बरसहितको कूल संख्या बुझाउनु पर्ने बताइएको छ। सार्वजनिक सवारी साधनमार्फत आउनेको सूची पनि बुझाउन भनिएको छ।साथै बिहान पौने ११ बजे तोकिएको समयमै आइपुग्न  पनि भनिएको छ। उपत्यकाका १० वटा स्थानलाई मुख्य आर्कका रुपमा निर्देशन दिइएको छ । जसमा केन्द्रदेखि विभिन्न तहका नेताहरुले कमाण्डर सम्हाल्नेछन् । कमाण्डरहरुको नाम तोकेर जिम्मेवारी नै दिइसकेको छ


-माइतीघरबाट शुरु हुने जुलुसमा काठमाडौँ क्षेत्र नम्बर १ र २, भक्तपुर,काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला कमिटी र पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, ईञ्जिनियर, शिक्षक र प्रदेश नं २ लाई तोकिएको छ ।  माइतीघर, भद्रकाली, शहीदगेट, एनएसी, भोटाहिटी हुँदै रत्नपार्क पुग्ने उक्त जुलुसको नेतृत्व गणेश साह, गिरिराजमणि पोखरेल, मात्रिका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडालगायतलाई तोकिएको छ ।

-डिल्लीबजार चारखाल आर्कको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्दैछन् र उक्त आर्कमा काठमाडौं निर्वाचन क्षेत्र ३, ४ र ५ का नेता(कार्यकर्ता सहभागी हुनेछन् । डिल्लीबजारबाट शुरु हुने जुलुस पुतलीसडक चोक, प्रज्ञाभवन, घन्टाघर हुँदै सभास्थल रत्नपार्क पुग्नेछ।

-तेस्रो आर्कका रुपमा तोकिएको लैनचौरमा काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ तथा रसुवा र नुवाकोट जिल्लाका नेता(कार्यकर्ता उपस्थित हुनेछन् । लैनचौरबाट शुरु हुने जुलुसको नेतृत्व नेताहरु भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले गर्नेछन् ।

-काठमाडौं निर्वाचन क्षेत्र नं ८, ९ र १० तथा धादिङ,चितवन, मकवानपुर र गण्डकी प्रदेश सह्भागी हुने त्रिपुरेश्वर आर्कको नेतृत्व नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछन् । त्रिपुरेश्वर, एनएसी, भोटाहिटी हुँदै जुलुस रत्नपार्क पुगेर मुख्य जुलुसमा मिसिनेछ।

-कुपण्डोल आर्कमा ललितपुर जिल्ला ,खेलकुद र सुकुम्बासी संगठनका नेता(कार्यकर्ता सहभागी हुनेछन् । यहाँको नेतृत्व नेताहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दबहादुर थापाले गर्नेछन् । कुपण्डोलबाट सुरु हुने जुलुस थापाथली, माइतीघर,भद्रकाली,एनएसी भोटाहिटी हुँदै रत्नपार्क पुग्नेछ।

-उता, प्रदर्शनीमार्गको नेतृत्व जनार्दन शर्मा र घनश्याम भुषालले गर्नेछन् । सो आर्कमा सम्पर्क कमिटी, आदिवासी(जनजाति, बाँकी अन्य जनसंगठनहरुले सहभागिता जनाउनेछन्। पुतलीसडक चोकबाट शुरु हुने यहाँको जुलुस  प्रज्ञाभवन, घण्टाघर हुँदै रत्नपार्कमा पुगेर सभामा मिसिनेछ।

-नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले नेतृत्व गर्ने शान्तिवाटिकाको जुलुसमा मजदुर संगठनका नेता(कार्यकर्ता रहनेछन्। त्यस्तै, त्रिचन्द्र कलेजमा विद्यार्थीहरुको आर्क तोकिएको छ। त्यहाँको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन् ।

-अमृत बोहोरा, मुकुन्द न्यौपाने र बिष्णुकुकार श्रेष्ठलाई वाल्मिकी कलेजबाट शुरु हुने जुलुसको नेतृत्व दिइएको छ।  जुलुसमा सबै पेशागत संगठनका नेता(कार्यकर्ता रहनेछन्।  वाल्मिकी कलेजबाट शुरु हुने जुलुस पुतलीसडक, प्रज्ञा भवन, घन्टाघर हुँदै रत्नपार्क पुग्नेछ।

-त्यसैगरी,मंच तथा नेतृत्व सुरक्षाको जिम्मेवारी राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखालाई तोकिएको छ। 

0Shares