प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दाको फैसला फागुन दोस्रो साता सम्म
काठमाण्डौ, माघ २९ : गत पुष ५ गते प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव घोषणाको कदम विरुद्धको मुद्दाको अन्तिम फैसला फागुन दोस्रो साता आउने भएको छ। सो कदम असंवैधानिक भएको भन्दै परेका रिटबारे संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन्। प्रधानन्यायाधीशले सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारसम्ममा बहस सक्न समय दिएका भएता पनि भोलि सोनाम ल्होसारको सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरेकाले आजै बहस सक्न लागिएको हो ।
सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्नी प्रसाद सापकोटाका कानुन व्यावसायीको बहस बाँकी रहने छ । त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको अदालतको सहयोगी मानिने एमिकस क्युरीले आफ्नो राय राख्नेछ । फागुन पहिलो साताभित्र बहस सक्ने सर्बोच्चले तयारी गरेको छ । फैसला लेखनमा केही दिन लाग्ने भएकाले फागुन दोस्रो सातासम्म फैसला आउने अपेक्षा गरिएको छ ।
सरकारी पक्षको बहस गत माघ १९ गतेदेखि सुरु भएको थियो । यसअघि प्रतिनिधिसभा विघटन विरुद्धका १३ वटा रिट निवेदकका पक्षबाट ७२ जना कानुन व्यवसायीले १३ दिन सम्म बहस गरेका थिए ।