राष्ट्रिय

प्रधानमन्त्रीलाई जस पाउने लोभ

0Shares

काठमाडौ,बैशाख ३: रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत मात्रै सकिएको छ।धरहरा पुनर्निर्माण काममा खटिएका एक कर्मचारी सरकार फेरिने सम्भावना भएकाले काम नसकी सरकारले उद्घाटन गर्न लागेको अनुमान लगाउँछन्। ‘काम सकिन त अझै धेरै नै समय लाग्छ,’ उनले भने‚ ‘तर,सरकार फेरिने सम्भावना रहेकाले प्रधानमन्त्रीले वैशाख ११ गते नै उद्घाटन गर्न लागेका हुन्।’
प्रधानमन्त्रीलाई जस पाउने लोभ
पूर्वरक्षामन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री ओलीले जस पाउनका लागि धरहरा उद्घाटन गर्न हतार गरेको दाबी गर्छन्।‘ओली अहिले जहाँ पनि आफ्नो नाम अगाडि आओस् भनी जहाँ पनि शिलान्यास र उद्घाटन गर्न दौडिरहेका छन्,’ प्रधानले भने, ‘धरहराको पनि जस पाउन उहाँले काम नसकी उद्घाटन गर्न लागेका हुन्। जात्रा देखाउन ओली र राष्टपति भण्डारीले शिलान्यास र उद्घाटन गर्न भागबण्डा गरिरहेका छन्। ओलीले कुन दिन समृद्ध नेपाल, सुखी नेपाली नाराको पनि शिलान्यास गर्न बेर छैन!’

0Shares