राष्ट्रिय

प्रा.डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

0Shares

काठमाडौ,जेठ ११ : वीर अस्पताल (कोभिड–१९ युनिफाइड) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा सोमबार बसेको मन्त्रीस्तरीय निर्णयबाट प्रा डा. जागेश्वर गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका प्रा.डा. गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार गौतमले वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै जनशक्तिको व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन र अन्य व्यवस्थान गरेर मुलुकभरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्नेछन् ।
युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ । गौतमको जिम्मेवारी फेरिएसँगै मन्त्रालयमा सह-प्रवक्ता समिर कुमार अधिकारीले नै उनको कार्यभार तत्कालका लागि सम्हाले रेग्मीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यस्तै संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडियु) र सघन उपचार कक्ष (आइसियु) हुने छन् । टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ । युनिफाइड अस्पतालले शैया खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । यस्तै जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश पनि दिन सक्ने अध्यादेशमा उल्लेख छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।

0Shares