राष्ट्रिय

बन्द हुनेभयो बेनी-जोमसोम सडक खण्ड

0Shares

काठमाडौ,वैशाख ९: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ। विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो। आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६:३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६:३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिनुभयो।यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो। सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन्।बेनी-जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ। त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ। करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो। एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ।आयोजनाले जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ। बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ।

0Shares