राष्ट्रिय

बुटवलमा शुरु भयो अक्सिजन सेवा बैंक

0Shares

काठमाडौ,वैशाख २१ : लुम्बिनी प्रदेश अन्तर्गतको बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितहरुका लागि लक्षित गरेर नि:शुल्क अक्सिजन सेवा सुरू गरेको छ । बुटवलका सामुदायिक आइसोलेसन, होटल तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ । मंगलबार उपमहानगरपालिकामा संक्षिप्त कार्यक्रमबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गरेका हुन् । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुने गरी व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

घरघरमै रहेका संक्रमितलाई अक्सिजनको आवश्यकता देखिएपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरी नयाँ व्यवस्था गरिएको हो। पहिलो चरणमा एक सय थान सिलिन्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ। कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ।

0Shares