ब्रम्हाण्डकै सर्वाधिक महंगो बस्तु
एजेन्सी सामान्य रुपमा सबैभन्दा महंगो बस्तुको बारेमा कुरा गर्दा हिरा, मोती, सुन, चाँदी जस्ता बस्तुहरुको चर्चा हुन्छ । तर यी बस्तुहरुभन्दा पनि महंगा अन्य थुप्रै बस्तुहरु पनि छन । जो आम मानिसको पहुँचमा छैनन् । यहाँ त्यस्तै एक ब्रम्हाण्डकै सर्वाधिक महंगो पदार्थको बारेमा चर्चा गर्न खोजिएको छ ।त्यो पदार्थको केवल एक ग्रामको मूल्य ६२.५ ट्रिलियन अमेरिकी डलर पर्छ । त्यो पदार्थको नाम हो, एन्टीम्याटर । शायद तपाँईले यो पदार्थका बारेमा यसअघि सुन्नु भएको थिएन होला, तर विज्ञानको दुनियाँले यो एन्टीम्याटर (प्रतिद्रब्य) को अस्तित्वको खोजी गरिसकेको छ । वैज्ञानिकहरुका अनुसार एन्टीम्याटर पदार्थ जस्तै हुन्छ । तर एन्टीम्याटरको गुण पदार्थको गुणभन्दा ठिक उल्टो हुन्छ । एन्टीम्याटरको उपपरमाणु कणहरुको गुण सामान्य पदार्थहरुको भन्दा विपरित हुन्छ । ती कणहरुको विद्युत आवेश उल्टो हुन्छ ।
वैज्ञानिकहरुको तर्क अनुसार ब्रम्हाण्डको उत्पत्ति हुने बेला भएको बिग बेंग अर्थात महाविष्फोटको बेलादेखि नै एन्टीम्याटरको अस्तित्व कायम रहेको थियो । तर पनि यो बस्तु वैज्ञानिकहरुका लागि रहस्यकै विषय बन्दै आएको छ । अब तपाँईलाई लाग्न सक्छ एन्टीम्याटर कुनै काल्पनिक बस्तु हो, त्यसैले यसलाई प्राप्त गर्न सकिंदैन । तर त्यस्तो पटक्कै हैन । यसको खोज २०औं शताब्दीको पूर्वार्धमा भएको थियो ।एन्टीम्याटरको बारेमा विश्वलाई सबैभन्दा पहिले सन १९३० मा वैज्ञानिक पउल डिराकले जानकारी गराएका थिए । डिराकलाई विश्व प्रसिद्ध विज्ञान पत्रिका न्यु साइन्टिस्ट म्यागजिनले सर आइजेक न्युटन पछिका महान वैज्ञानिक भनेर सम्बोधन गरेको थियो । त्यस बेलादेखि अहिलेसम्म एन्टीम्याटरको विषय वैज्ञानिकहरुका लागि कौतुहलको विषय बन्दै आएको छ ।
वैज्ञानिकहरुका अनुसार ब्रम्हाण्डको उत्पत्ति गराउने बिग बेंग को घटना लगत्तै यत्रतत्र सर्वत्र पदार्थहरु छरिएका थिए । त्यसबेला पदार्थहरु एक आपसमा ठोक्किंदा त्यहाँ गामा किरणको रुपमा भारी मात्रामा उर्जा उत्पन्न भएको थियो । वैज्ञानिकहरुको तर्क अनुसार त्यही टकरावका कारण थुप्रै पदार्थहरु नष्ट भए । तर केही पदार्थहरु बचे । जुन ब्रम्हाण्डको कुनै न कुनै भागमा सुरक्षित छन । यही तर्कका आधारमा एन्टीम्याटर कहीं न कहीं फेला पर्ने सम्भावना रहेको छ भन्ने वैज्ञानिकहरुको विस्वास छ ।ब्ल्याक होलद्वारा तारालाई टुक्र्याउने क्रममा एन्टीम्याटर उत्पन्न हुने विश्वास बैज्ञानिकहरुको छ । वैज्ञानिकहरुले पृथ्वीमा लार्ज हेड्रन कोलाइडर (विश्वकै सबैभन्दा विशाल र शक्तिशाली कोलाइडर त्वरक) जस्तो उच्च उर्जायुक्त कणहरुबाट एन्टी पार्टिकल उत्पन्न गराउने प्रयास पनि गरिरहेका छन । यस क्रममा वैज्ञानिकहरु प्रयोगशालामा केही मात्रामा एन्टीम्याटर बनाउन सफल पनि भएका छन ।
नासाका अनुसार ब्रम्हाण्डकै अत्यन्तै महंगो पदार्थ एन्टीम्याटर निकै खतरनाक पनि छ । ५ सय ग्राम एन्टीम्याटरबाट विश्वको सबैभन्दा शक्तिशाली हाइड्रोजन बमभन्दा पनि शक्तिशाली बम बनाउन सकिन्छ । जसले कुनै पनि शहरलाई छिनभरमै ध्वस्त पार्ने क्षमता राख्छ । यद्यपी यति मात्रामा एन्टीम्याटर बनाउन तत्काल सम्भव नहुने वैज्ञानिकहरुले बताएका छन ।वैज्ञानिकहरुले बताए अनुसार एन्टीम्याटरको प्रयोग अन्तरिक्ष यानमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । तर यो यति धेरै महंगो छ कि, यसबारे कसैले कल्पनासम्म पनि गर्न सक्दैन । भविष्यमा एन्टीम्याटरको प्रयोग सम्भव हुन सक्ने वैज्ञानिकहरुको भनाइलाई उद्धृत गर्दै साइन्स टु गोले जनाएको छ । (नागरीक दैनिकमा प्रकाशीत )