पुंजीबजार

ब्रोकर कमिसनका बारेमा नेपाल धितोपत्र बोर्डमा फेरि छलफल सुरु

0Shares

काठमाडौ,असार २८: ब्रोकर कमिसनका बारेमा नेपाल धितोपत्र बोर्डमा फेरि छलफल सुरु भएको छ । अहिलको ब्रोकर कमिसन धेरै भएको भन्दै पुनः घटाउने बारेमा धितोपत्र बोर्डमा छलफल भएको हो । पछिल्लो समय धितोपत्र बोर्डका कर्मचारीको बैठकमा होस् या सञ्चालक समितिको बैठकमा यसले चर्चा पाउने गरेको छ । बोर्डमा भएको छलफलमा केहीको मत तत्कालै कमिसन घटाउनुपर्नेमा जोड हुने गरेको छ भने कतिपयले भर्खरै (केही समय पहिले) मात्रै घटाइएकाले तत्कालै फेरि घटाउन उपयुक्त नहुने आफ्नो राय दिने गरेको धतोपत्र बोर्ड स्रोतले बताएको छ । धितोपत्र बोर्डले ७ महिनाअघि गत पुस ११ मा कमिसन करिब ३३% घटाएको थियो । बोर्डले उक्त बेला लगानीकर्ताको आँखामा छारो हाल्ने गरी निकै थोरैमात्र कमिसन घटाएको भन्दै लगानीकर्ताले विरोध गर्दै आएका छन् । उनीहरुले तत्काल फेरि ब्रोकर कमिसन घटाउनुपर्ने बताउँदै आएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘बोर्डले पुसमा घटाएको ब्रोकर कमिसन लगानीकर्ताको आँखामा छारो हाल्ने काम मात्रै भयो । अब तत्काल लगानीकर्तालाई रहात हुने गरी कमिसन घट्नुपर्छ ।’
उनले पहिलेको ब्रोकर कमिसन ठूला लगानीकर्तालाई मात्रै सहज हुने गरेर आएको भन्दै अब साना लगानीकर्तालाई पनि राहत पुग्ने गरी कमिसन घट्नुपर्ने बताइन् । यता, धितोपत्र बोर्डले पनि बजारमा कारोबार रकम बढेको अवस्थामा हालको ब्रोकर शुल्क महँगो भएकाले कसरी कम गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको जनाएको छ । साथै, अध्यक्ष पोखरेलले अहिले सेयर किनबेचका प्रायः सबै काम अनलाइनमार्फत हुने भएकाले पनि ब्रोकर कमिसन घटाउनुपर्ने बताइन् । पछिल्लो समय सेयर बजारमा ८५%–९०% सम्म कारोबार अनलाइनमार्फत हुने गरेकोको छ भने दैनिक कारोबार रकम पनि बढ्दै गएको छ । त्यसैले ब्रोकर कमिसनलाई समय सापेक्ष बनाइनुपर्ने लगानीकर्ताको माग छ । हाल सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७% देखि ०.४% रकम शुल्क तिर्नुपर्छ  ।संगठित संस्थाको सेयर कारोबारमा ब्रोकरले ५० हजारसम्मको कारोबारमा ०.४०%, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७% कमिसन तिर्नुपर्छ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४%, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३०% र १ करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७% शुल्क लाग्छ । यसअघि ०.४% देखि ०.६% सम्म शुल्क लाग्ने व्यवस्था थियो ।यो शुल्कलाई एउटै (सानो ठूलो दुवै करोबार गर्ने) लाई ०.०१% मा झार्नुपर्ने लगानीकर्ताहरुको माग छ । अध्यक्ष पोखरेलले भनिन्, ‘सानाठूला दुवैथरिका लगानीकर्ता लागि एउटै दरको ब्रोकर कमिसन हुनेगरी ०.०१% कमिसन निर्धारण हुनुपर्छ ।’ सेयर कारोबार शुल्क घटाउने विषय बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । त्यसैले असारभित्र ब्रोकर कमिसन घट्दैन । तर साउन लागेपछि भने यो विषयले चर्चा पाउनेछ । बोर्ड आफ्नो कार्यक्रममा राखेपछि घटाउनका लागि पनि उत्तिकै दबाब पर्नेछ ।

0Shares