राष्ट्रिय

भक्तपुरका एक जना कोरोना संक्रमित सशस्त्र प्रहरी रहेको खुलासा

0Shares

भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदादेखि नै सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ । तर उनी एक महिनादेखि रावलसँग थिएनन् ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरिका, महेन्द्रनगरबाट आएका थिए

मंगलबार राति भक्तपुरका दुई र काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरको महेन्द्रनगरबाट आएको बताइएको छ ।

Source:Onlinekhabar.com

0Shares