भारतमा एकै दिनमा १ लाख २७ हजार कोरोना भाईरस बाट संक्रमित
काठमाडौ,चैत २७: भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।
पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।भारतमा अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित भएका थिए ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।