राष्ट्रिय

भीम रावलको राजीनामा फिर्ता

0Shares

काठमाडौ,साउन ८: एमाले नेता तथा सांसद भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले सभामुख अग्निप्रसाद खरेललाई भेटेर आफूले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका हुुन् । रावलले सांसद पदबाट राजीनामा फिर्ता लिएको सभामुखका स्वकीय सचिव श्रीधर न्यौपानेले पुष्टि गरे ।यसअघि रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि रावललाई पहिला राजीनामा फिर्ता लिएर थप कुराकानी गर्न आउन आग्रह गरेका थिए । एमाले नेता माधवकुमार नेपाल समूहमा रहेका रावलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका थिए भने अदालतमा समेत देउवाका पक्षमा आफू उभिएको भन्दै सनाखत गरेका थिए ।
तर, पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हुँदैन भन्ने पक्षमा उभिएका थिए । त्यही विषयमा नेता माधवकुमार नेपालसँग सहमत हुन नसकेपछि उनले राजीनामा दिएर अछामी जनतासँग माफि माग्छु भन्दै सामाजिक संजालमा धारणा सार्वजनिक गरेका थिए । रावललले राजीनामा फिर्ता गर्नुको कारण भने अहिलेसम्म सार्वजनिक गरिसकेका छैनन् ।

0Shares