भोलिबाट कास्कीमा निषेधाज्ञाको घोषणा
काठमाडौ,वैशाख १४ : कोरोना संक्रमण तीव्र बन्दै गएपछि कास्की जिल्ला प्रशासनले वैशाख १५ गते बुधबार बिहानदेखि एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक हप्तासम्मका लागि जिल्लामा निषेधाज्ञा लागू हुने सूचना जारी गरेको हो । सोमबार राति सूचना निकालेर प्रशासनले २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
कास्कीका सिडिओ थानेश्वर गौतमद्वारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कारवाही हुने उल्लेख छ । दैनिक उपभोग्य खाद्यवस्तु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ । सिनेमा हल, नाचघर, दोहोरी साँझ, बार, डिस्को, सुनचाँदी पसल,रंगशाला, जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।
अति आवश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू गरिएको छ । विवाह, पूजाआजा जस्ता संस्कार जन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न नपाइने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा बढी सहभागी हुन पाइने जनाएको छ । बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने र होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने उल्लेख गरिएको छ ।