पुंजीबजार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0Shares

काठमाडौ,असार २१ : असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

0Shares