महन्थ ठाकुरलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव
काठमाडौ,फागुन २८: जसपाका एक पदाधिकारीले प्रधानमन्त्री ओलीबाट ठाकुरलाई यस्तो प्रस्ताव आएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ बन्ने सरकारको नेतृत्व गर्ने सम्मको प्रस्ताव गरेका छन् । तर यसबारेमा जसपामा नेताहरू औपचारिक रूपमा बोल्न चाहन्नन् । जसपा स्रोतका अनुसार यस बिचमा ठाकुरले एक्लै र सामूहिक रूपमा प्रधानमन्त्रीलाई धेरै पटक भेटेका छन् । बिहीबार अपराह्न जसपाका ५ शीर्ष नेताहरूले प्रधानमन्त्रीसँग कुराकानी गरेका हुन्।
ठाकुरले पार्टीलाई समेत थाहा नदिई नयाँ समीकरण बनाउन प्रधानमन्त्री पक्षसँग कार्यदल गठन गरेका छन् । कार्यदलमा ठाकुरले आफू निकट दुई नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखेका छन् ।केही दिन यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन् । यसकोलागि प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरसँग पटक पटक भेट गरेका छन् । जसपासँग हाल ३४ सांसद छन् । तीमध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बनमा परेका छन् । एमाले र जसपा मिलेमा नयाँ सरकार बनाउनको लागि पर्याप्त सङ्ख्या पुग्छ । त्यसैले प्रधानमन्त्री ओलीले ठाकुरलाई मनाउन प्रयास सुरु गरेका हुन्–स्रोतले भन्यो । जसपा स्रोतका अनुसार जसपाले राख्दै आएको मागमा प्रधानमन्त्री सकारात्मक र लचिलो छन् । रेसम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनुपर्ने, लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने लगायतका मुद्दा जसपाले उठाउँदै आएको छ ।