राष्ट्रिय

महाधिवेशनका बारेमा निर्णय गर्दै काग्रेस

0Shares

काठमाडौ चैत ९: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललले जानकारी दिए ।उनका अनुसार आज दुईवटा मुख्य एजेन्डा रहेका छन् । उनले भने, ‘आज दुई वटा मुख्य विषय रहेका छन् । नम्बर एक चौधौं महाधिवेशनका बारेमा निर्णय हुन्छ । नम्बर दुई अहिलेको समसामयिक विषयमा निर्णय हुन्छ ।आगामी भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने कांग्रेसले अहिलेसम्म तयारीको सुरसार गरेको छैन । केही जिल्लाले मात्र क्रियाशील सदस्यको नामावली बुझाएका छन् । सबैजसो जिल्लाको बाँकी नै रहेको छ ।अर्कातर्फ समसायिक अन्तर्गत केपी शर्मा ओली नेतृत्वको सरकारले फागुन ११ गतेदेखि फेरि पनि निरन्तरता पाइरहेको छ । पुस ५ गते संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले उल्टाएर संसद ब्युँताएको थियो । आफैले विघटन गरेको संसद व्युँतिए पनि त्यही संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले राजीनामा नदिँदा पनि प्रमुख प्रतिपक्ष दलको हैसियतले नेपाली कांग्रेसले केही पनि विकल्प नखोजेको भन्दै आलोचना हुन थालेको छ । कांग्रेसलाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ दिन खोज्दासमेत संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले चासो नदेखाइरहेको आरोप लागिरहेको छ ।

आरोपकाबीच सभापति देउवाले बोलाएको सोमबारको बैठकले अर्थ राख्ने नेताहरुले बताएका छन् । संसदको पाँचौं बैठक मंगलबार बस्दैछ । सानेपा बैठकले उचित निर्णय गर्ने हो भने मंगलबारै कांग्रेसले संसदमा कुनै विकल्प दिन सक्ने अनुमान पनि गरिएको छ । कांग्रेसले माओवादी र जसपासँग छलफल पनि गरेकै हो । नेकपा एमालेको केपी शर्मा ओली इतर पक्षसमेत पनि ओलीका गतिविधिदेखि चिँढिएका बेलामा जस्तोसुकै कदम पनि चाल्न सक्ने अनुमान गरिएको छ । तर माओवादीले अहिलेसम्म ओलीसँगको सत्ता एकताको डोरी नचुँडालेकाले पनि निर्णय गर्न कांग्रेसलाई समस्या भएको छ । कांग्रेस नेतृत्वलाई दबाब दिनका लागि संस्थापन इतर पक्षले आइतबार मात्रै रणनीतिमूलक छलफल गरेको थियो । छलफल वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भएको थियो । उक्त बैठकमा महामन्त्री डा. शशांक कोइराला, रामशरण महत, प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको बताइएको छ ।

0Shares