माथिल्लो तामाकोशी आयोजनाको भोलि उद्घाटन हुदै
काठमाडौ,असार २०: माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (सोमबार) गर्ने भएका छन् । भर्चुअल माध्यमबाट भोली ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले बताए ।‘अहिलेसम्मको तयारी भोली ४ बजे गर्ने तालिका तय भएको छ,’ उनले भने, ‘भर्चुअल माध्यमबाट गर्ने गरी उद्घाटन गर्ने कार्यक्रम छ ।’
यसअघि नै पहिलो युनिटबाट सोमबार पहिलो युनिटबाट बिजुली गर्ने गरी अन्तिम परिक्षणको काम हुँदै आएको थियो । सोमबार स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न कार्यक्रम रहेको छ ।७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेका थिए ।जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।७६ किलोमिटर खिम्ती-ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ ।सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती-लामोसाँघु-भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ । सबस्टेसन एक साता भित्रमा सञ्जालनमा आउने छ ।