राष्ट्रिय

मेलम्चीको पानी चौबिसै घण्टा

0Shares

काठमाडौ,चैत १७: अनामनगरमा चौबिसै घण्टा पानी दिन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने, ‘चौबिसै घण्टा पानी छोड्दाको अवस्थाको पहिचान गर्न अनामनगर क्षेत्रमा परीक्षण गरिएको हो, अहिले त्यहाँ पानी वितरण गरिरहेका छौँ, यो केही समय निरन्तर गर्छौं ।’

मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी आएपछि चौबिसै घण्टा पानी छोड्दा पर्ने प्रभाव मूल्याङ्कन गर्न अहिलेदेखि परीक्षण गरिएको उनले स्पष्ट पारे । मेलम्चीको पानी दैनिक दुईदेखि छ घण्टाको तालिका बनाएर वितरण गर्न थालिएको छ । सुन्दरीजलबाट महाँकालको पोखरीमा आएको पानीलाई विभिन्न वितरण शाखामार्फत वितरण भइरहेको केयूकेएलले जनाएको छ ।सोमबार बिहान भोटाहिटी, इबहाल, कमलाछी, असन क्षेत्रमा पानी वितरण गरियो । १० बजेदेखि ४ बजेसम्म पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल, मिलनचोक, सङ्गमचोक क्षेत्रमा वितरण भएको थियो । राति १० बजे पुतलीसडक, डिल्लीबजार, त्रिपुरेश्वर क्षेत्रमा वितरण भएको छ । परीक्षणका रूपमा पुरानै पाइपलाइनबाट वितरण भइरहेको छ ।आज शङ्खमूल रोडको पूर्वीक्षेत्र, बुद्धनगर, अनामनगरलगायतका क्षेत्रमा वितरण हुने छ । केयूकेएलले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गरेको छ । पहिलो चरणमा चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

0Shares