राष्ट्रिय

मेलम्चीको सुरुङ परीक्षण गरिँदै

0Shares

काठमाडौ,फागुन १० : मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आजदेखि सुरुङ परीक्षण गरिँदै छ ।यो सुरुङको लम्बाई साढे २६ किलोमिटर रहेको छ।आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ। परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ ।यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौँ उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुुग रहेको छ ।

0Shares