युनियन लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी
काठमाडौ,असार ३१: युनियन लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार (साउन १ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरिएको प्रभु क्यापिटलले जानकारी गराएकोे छ ।प्रभु क्यापिटलका अनुसार आज (बिहीबार) प्री अलोटमेन्ट सम्पन्न गर्ने कार्यक्रम रहेको छ । युनियनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
२१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको छ । युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो ।बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।