खेलकुद

युरोकप फुटबलको उपाधि इटालीलाई

0Shares

काठमाडौ,असार २८: १६ औं संस्करणको युरोकप फुटबलको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनलमा इङ्गल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले उपाधि जितेको हो ।पहिलो पटक युरोकप फुटबलको फाइनलमा पुगेको इङ्गल्याण्ड पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित भएको हो । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । इङ्गल्याण्डका लागि कप्तान ह्यारि केन र ह्यारि मग्वाएरले मात्र गोल गरे । त्यसअघि खेलको दोस्रो मिनेटमै गोल गरेर इङ्गल्याण्डले शुरुआती अग्रता बनाएको थियो । लुक शाले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म इङ्गल्याण्डले अग्रतालाई कायमै राख्यो । वेम्ब्बलेको ६७ हजार १७३ दर्शकको चिच्याहटबीच इङ्गल्याण्ड जित नजिक पुगेको थियो । तर खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।यो उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले सन् १९६८ मा युरोकप उपचालेको थियो । इङ्गल्याण्ड भने ‘लक्की’ मानिएको वेम्ब्ली स्टेडियममै पराजित हुन पुग्यो । पहिलो पटक युरोकपको फाइनलमा पुगेर घरेलु मैदानमै उपाधि जित्ने उसको सपना तुहिएको हो । वेम्ब्ली स्टेडियममै सन् १९६६ मा इङ्गल्याण्डले विश्वकप फुटबलको उपाधि जितेको थियो ।

0Shares