राष्ट्रिय

रामकुमारी झाँक्री पक्राउ

0Shares

काठमाडौँ, माघ २९ : नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरेको छ ।
यसअघि महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो। झाक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।
पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भएको बताइन् ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । झाँक्रीलाई पक्राउ गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सरकार र प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

0Shares