राष्ट्रिय

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज

0Shares

काठमाडौ,वैशाख २४ : वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् ।

विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । थापालाई उम्मेदवार बनाउँदा जित्न सक्छन् कि सक्दैनन् भनेर एमालेले मतको आन्तरिक हिसाबकिताब गरिरहेको छ । एमाले स्थायी कमिटीको बिहीबारको बैठकमा यो विषयमा पनि कुराकानी भएको थियो । थापाले जित्ने सुनिश्चितता नदेखिए एमालेले अर्को उम्मेदवार खडा गर्ने सम्भावना छ । त्यसैगरी, लुम्बनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन जेठ १७ मा हुँदै छ । त्यसका लागि जेठ १ देखि ९ सम्मको निर्वाचन कार्यतालिका आयोगले तयार गरेको छ । राजधानी तोकिएको दाङमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

0Shares