रुपन्देहीका सबै पालिकामा विद्यालय बन्द, यातायातमा जोर-बिजोर लागू हुने
काठमाडौ,वैशाख १२ : कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो। यो नियम मोटरसाइकलदेखि सार्वजनिक सवारी साधन, मालवाहक ढुवानीका साधन र निजी प्रयोजनका चार पांग्रे गाडीमा समेत लागू हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका जिल्ला प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए। एम्बुलेन्स र शब वाहन तथा औषधि, दूध बोक्ने तथा सरकारी कर्मचारी, प्रेसका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू नहुने थापाले बताए।
यस्तै वैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने र परीक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ। यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो ।बैठकले जिल्लाभित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको प्रशासकीय अधिकृत थापाले बताए। वैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ–आफ्नो पालिकामा रहेको सामुदायिक आइसोलेसन र होम आइसोलेसनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ।