राष्ट्रिय

वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने:माधव नेपाल

0Shares

काठमाडौ,फागुन २७: सत्तारूढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठकले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो ।बैठकमा नेतारूले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्न नहुने मत प्रकट गरेका थिए । एमाले वरिष्ठ नेता नेपालले वामपन्थी घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताले जानकारी दिए ।

हामीले वाम घोषणापत्रका आधारमा मत पाएका हौं, त्यसलाई कायम राखेर जानुपर्छ, अन्यथा ढंगले अघि बढ्नु हुँदैन, नेपाललाई उद्धृत गर्दै ती नेताले भने । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तो थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सार्वजनिक रूपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताएका थिए । त्यसका लागि वाम गठबन्धन कायम राख्नुपर्ने उनको धारणा थियो ।केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकपछि नेता रघुजी पन्तले सरकारको विषयमा अहिलेको गठबन्धन टुटाउन नहुने धारणा अधिकांशको रहेको जानकारी दिए । ‘सरकार वामपन्थीहरूको हुनुपर्छ, त्यसैले यो परिस्थिति निर्माण गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकपछि पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला कि नहोला तर वामपन्थीकै सरकार आवश्यक छ ।’ माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा वा संसद्मा अविश्वासको प्रस्ताव आउँदा एमाले नेतृत्वको सरकार टिकाउन समस्या हुन्छ । त्यसैले सकेसम्म माओवादी केन्द्रसँगको सहकार्यलाई जोगाउँदै जानुपर्नेमा नेपाल समूहको जोड छ । नेपाल समूह नेकपामा तत्कालीन माओवादी केन्द्र धारसँग मिलेर अघि बढेको थियो । संसद् विघटन गर्ने ओलीको कदमविरुद्ध सडक संघर्षसमेत गरेको यो समूह सर्वोच्च अदालतको फैसलापछि ओलीसँगै मिलेर जानुपर्ने अवस्थामा पुगेको छ । त्यसैले नयाँ परिवेशमा विगतको एमालेको शक्तिलाई कायम राख्दै त्यसका लागि सबैले आ–आफ्नो ढंगबाट अधिकतम योगदान गर्नुपर्ने नेताहरूले बताएका छन् । ओली समूहले पार्टी एकता नै गलत थियो भन्ने ढंगले चर्चा गरिरहेका बेला नेपाल समूहका नेताहरूले भने त्यसलाई अस्वीकार गरेका छन् ।

नेपाल समूहले विगतमा भएका तिक्त कुराहरूलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्ने निष्कर्ष पनि निकालेको छ । त्यहीअनुसार तल्लो तहसम्मै नेता–कार्यकर्ता मिलेर अघि बढ्ने र तिक्त हुने व्यवहारहरू अब गर्न नहुने मत पनि नेताहरूले राखेका छन् । त्यसका लागि तत्काल केन्द्रीय कमिटी, स्थायी कमिटीलगायत बैठक बोलाएर त्यसमार्फत एउटा सर्कुलर जारी गर्नुपर्नेमा उनीहरूको जोड छ । अहिले विभिन्न स्थानमा कार्यकर्ताहरू बीच मनमुटाब रहेको, जसका कारण जनमतसमेत विभाजित भएकाले त्यसलाई विश्वासमा राख्नका लागि पनि केन्द्रबाट संयुक्त अपिल आवश्यक परेको नेपाल समूहको भनाइ छ । अहिले एमालेको अध्यक्ष र महासचिव दुवै ओली समूहमा छन् । अध्यक्ष र महासचिवले मिलेर औपचारिक बैठक बोलाउने व्यवस्था एमालेको विधानमा छ ।

नेपाल समूहको निष्कर्ष

  • वाम गठबन्धनको घोषणापत्रबाट प्राप्त जनमत जोगाउन सकेसम्म माओवादी केन्द्रसँगकै सहकार्यमा जोड दिनुपर्ने
  • विगतमा भएका तिक्त कुराहरुलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्ने
  • तत्काल केन्द्रीय कमिटी, स्थायी कमिटीलगायत बैठक बोलाएर त्यसमार्फत तल्ला कमिटीहरुमा सर्कुलर जारी गर्नुपर्ने
  • विभाजित जनमतलाई विश्वासमा राख्नका लागि पनि केन्द्रबाट संयुक्त अपिल गर्नुपर्ने


0Shares