राष्ट्रिय

शेरबहादुर देउवा र रामचन्द्र पौडेल बीच आकस्मीक भेटबार्ता

0Shares

काठमाडौँ माघ ६: कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार उनकै निवास बोहोराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह गरेका छन् ।

पौडेलसँग करिब एक घण्टा कुराकानी गरेपछि देउवाले केन्द्रीय कार्यसमितिको बैठकसमेत १३ गतेलाई सारेका छन् । यसअघि पुस २७ गते बस्ने बैठक माघ ६ गते बोलाइएको थियो । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ भइरहेका बेला प्रश्न उठ्न सक्ने भन्दै पार्टीको बैठक सारिएको एक केन्द्रीय सदस्यले बताए ।पछिल्ला दिनमा पार्टी नेतृत्वको भूमिकाको समेत चर्को आलोचना गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्दै आएका पौडेललाई देउवाले ‘न्युट्रल’ राख्ने प्रयास गरेको स्रोतले बतायो । यसअघि महामन्त्री शशांक कोइरालालाई दुईपटक निवासमै बोलाएर निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।‘प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेका नेताहरू सबैलाई एकपटक बोलाएर कुराकानी गर्नेबारे छलफल भएको थियो,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यसअन्तर्गत भेट भएको हो ।’ देउवाले पौडेलसँग प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर निर्वाचनको विरोध गर्न नहुने बताएका थिए ।

माघ ३ गतेको पार्टीको विरोध प्रदर्शनका क्रममा चितवन पुगेर पौडेलले नेतृत्वलाई चुनाव–चुनाव नभन्न आग्रह गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए । देउवासँगको भेटमा पनि पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाकै लाइन पार्टीले लिनुपर्ने बताएका थिए । ‘अहिलेको राजनीतिक विषय, पार्टी महाधिवेशन, प्रदेश सरकारलगायत विषयमा छलफल भयो,’ पौडेलले भने, ‘सभापतिजीले कुरा राख्नुभयो । मैले संविधानविपरीतको कदम सच्याउने लाइन कांग्रेसले लिनुपर्ने बताएँ ।’

0Shares