राष्ट्रिय

सरकारको विरोध गर्न मुद्दा खोज्दै कांग्रेस

0Shares

वामपन्थीको शक्तिशाली सरकार गठनसँगै सुस्त बनेको प्रमुख प्रतिपक्षी कांग्रेस पछिल्लो समय भूमिका बढाउने उपाय खोजिरहेको छ। चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसीले अनशन सुरु गरेपछि उनको मागमा ऐक्यवद्धता जनाउँदै कांग्रेस सदनसँगै सडकमा उत्रियो। सरकार–केसीबीच सहमति भएपछि कांग्रेस मुद्दा सकियो भन्नेहरू पनि छन्। के साच्चै कांग्रेसको मुद्दा सकिएको हो त भन्ने जिज्ञासामा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा भन्छन्, ‘हामी डा.केसीको मागमा ऐक्यवद्धता जनाउन मात्रै आन्दोलनमा उत्रिएको सत्य होइन। केसीले उठाएका माग हाम्रो पनि एउटा मुद्दा थियो नै। सरकारले एकपछि अर्को असंवैधानिक निर्णय गरेपछि हामी आन्दोलनमा होमिन बाध्य भएका हौं।’

आफू निकट वकिलहरूको नवलपरासी भेलामा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सरकारविरुद्ध आन्दोलन जारी रहने उद्घोष गरी कांग्रेस सरकारविरुद्धको आन्दोलनलाई निरन्तर दिने मनस्थितिमा रहेको प्रष्टै पारेक छ।

प्रवक्ता शर्मा भन्छन, ‘निषेधाज्ञा, मूल्यवृद्धि, पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णयलगायतमा कांग्रेसको असहमति हो। त्यसको विरोध गर्न कार्यक्रम अघि बढाइएको हो।’

कांग्रेसले प्रतिनिधिसभामा सभामुख र उपसभामुख मध्ये एउटा अन्य पार्टीलाई दिनु पर्ने, संसदीय समितिमा भागवण्डालगायतका मुद्दा पनि उठाउँदै आएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि भन्छन, ‘सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने प्रावधान संविधानमै व्यवस्था छ। संसदीय समितिमा सम्मानजनक भाग नपाए पुनः सदन अवरुद्ध हुनसक्छ। हामीले सदन र सडक दुवैवाट सरकारलाई दबाब दिन्छौं।’

 

कांग्रेसका मुद्दा सकिए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी कांग्रेस कमजोर बनेर माइतीघर मण्डलमा खुम्चिएको दाबी गरेका छन् । अन्यत्र सभा–विरोध प्रर्दशन गर्दा जनमत देखाउन नसक्ने भएपछि माइतीघर मण्डलको सानो भूगोल कांग्रेसलाई प्यारो लाग्न थालेको प्रधानमन्त्रीले बताए ।

नेकपा निकट मजदुर संगठन जिफन्ट–अन्टुफ केन्द्रीय एकता संयोजन समितिको प्रशिक्षणमा शनिबार प्रधानमन्त्रीले ओलीले भने, ‘दुई–चार सय मान्छे जम्मा हुँदा भरिने माइतीघरमा सभा, जुलुस निकालेर धेरै मान्छे छन् भन्ने देखाउन कांग्रेसले माइतीघरमण्डलमा विरोध प्रर्दशन गर्न थालेको हो ।’

‘कांग्रेसको अहिले आकार घट्दै–घट्दै माइतीघरमण्डलभन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुगेको छ’ प्रधानमन्त्रीले भने, ‘माइतीघरमा दुई सय जना जति मान्छे अट्लान् । त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो । त्यही भएर कांग्रेसले त्यही माइतीघरलाई प्रयोग गर्न जिद्धि गर्न थालेको हो ।’

माइतीघरमण्डललाई मण्डलको रुपमा विकास गर्न, दीप प्रज्वलन गर्नका लागि विकसित गर्न खोजिए पनि त्यसलाई कांग्रेसले विरोध प्रर्दशन थलो बनाएको प्रधानमन्त्रीको भनाइ थियो । मण्डलमा गरिने प्रर्दशनले नजिकै रहेको सर्वाेच्च अदालतको काम–कारबाही समेत प्रभावित बन्ने गरेको भन्दै प्रधानमन्त्रीले निश्चित ठाउँमा विरोध प्रर्दशन गर्नुपर्नेमा कांग्रेसले आफ्नो हैसियत लुकाउन माइतीघरलाई रोजिरहेको आरोप लगाए ।

‘मण्डलमा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमान (सर्वाेच्चका न्यायाधीश)ले बहस सुन्न सक्नुहुन्न, अर्काेतिर त्यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ’, प्रधानमन्त्रीले भने, ‘भारत, बेलायतलगायत देशमा समेत निश्चित स्थानमा त्यस्ता कार्यक्रम गर्ने ठाउँ तोकिएको छ, तर यहाँ जहाँ पनि गर्न पाइन्छ ? ’

कांग्रेसले कहिले पानीजाहाज, कहिले रेलका कुरालाई कागजको डुंगा बनाएर मजाक बनाइरहेको त कहिले अधिनायकवादको कुरा गरेर जनतालाई दिग्भ्रमित पार्ने षडयन्त्र गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एजेण्डा सकिएपछि कांग्रेसले बेतुकको तर्क गरिरहेको आरोप लगाए ।

डा.गोविन्द केसीको मुद्दालाई कांग्रेसले सरकारविरुद्ध अस्त्रका रुपमा प्रयागे गर्न खोजे पनि अब त्यो मुद्दा सकिए पछि के गर्ने भन्ने चिन्तामा डुबेको प्रधाननमन्त्रीको आरोप थियो । ‘डा.केसीको मुद्दामा राजनीति गर्न खोजेका थिए, अब त्यो मुद्दा पनि सकियो । कांग्रेस अब खरानी घसेर बस्नुको विकल्प देखिएन’, प्रधानमन्त्रीले भने ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जसले अधिनायकवादको बढी अभ्यास गरे, उसैले नेकपा र नेकपाको सरकारलाई अधिनायकवादको आरोप लगाइरहेको बताए । उनले भने, ‘यस्ता आरोप लगाउनेलाई हामी ब्यवहारबाटै जवाफ दिन्छौं ।’

दाहालले समान्तवादविरुद्ध पुँजीवादी क्रान्तिको चरण पूरा भएकोले अब मजदुर आन्दोलनले समाजवादी क्रान्तिको चरण पूरा गर्नु पर्ने बताए ।

0Shares