राष्ट्रिय

सरकारद्वारा समुदायस्तरमै कोरोनाको परीक्षण सुरु

0Shares

बन्दबन्दीकोबीचमा पनि कोरोनाभाइरस संक्रमित बढेपछि सरकारले परीक्षणको दायरा बढाउन थालेको छ ।

यसअघि, ‘कन्ट्याक ट्रेसिङ’ गरेर ‘पीसीआर’ पद्धतिबाट परीक्षण गरिएकोमा अब समुदायस्तरमै परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण प्रयास बन्दाबन्दी पनि हो । बन्दाबन्दीपछि संक्रमण नियन्त्रणमा आउला भन्ने आशा थियो । तर, योबीचमा लापर्बाही तथा अव्यवस्थित ‘क्वारेन्टाइन’का कारण संक्रमित बढिरहेका छन् ।

बन्दाबन्दीले मात्र समस्याको समाधान नहुने भन्दै विज्ञ तथा सर्वसाधारणले समुदायस्तरमै परीक्षणको दायरा बढाउन सरकारमाथि निरन्तर दबाब दिइरहेका छन् ।

संक्रमणको उच्च जोखिममा रहेको भनिएको काठमाडौं उपत्यकामा सरकारले समुदायस्तरमै कोरोना परीक्षणको सुरुआत गरेको छ ।

परीक्षणको पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका करिब एक हजारजनाको ‘आरडीटी’ तथा पीसीआर पद्धतिबाट तरकारी व्यापारीहरुको नमुना संकलन गरिएको छ ।

यसअघि, कन्ट्याक ट्रेसिङ गरेर पीसीआर पद्धतिबाट परीक्षण गरिएकोमा अब समुदायलक्षित परीक्षणलाई अघि बढाइएको छ ।

योसँगै काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनामा खटिने कर्मचारी, राहत वितरण गर्ने स्वयंसेवक, सञ्चारकर्मी तथा संक्रमणको समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमा पनि परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३३.३३ प्रतिशतको पीसीआर र ६६.६६ प्रतिशतको आरडीटी पद्धतिबाट परीक्षण हुनेछ ।

जनस्तरको परीक्षण ४० हजारसम्म गर्ने मन्त्रालको योजना रहेको छ ।

उपत्यकाका १० हजारभन्दा बढीमा गरिने परीक्षण जेठ ५ गतेसम्म गरिसक्ने र एक हप्ताभित्र देशभर जनस्तरमा परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाको लक्षण देखापरेका र संक्रमितको शतप्रतिशत कन्ट्याक ट्रेसिङ गर्ने मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दीकोबीचमा पनि संक्रमणको दर बढ्दा स्वास्थ्य अधिकारी चिन्तित बनेका छन् ।

अबको विकल्प भनेको नागरिक सचेतता र जनस्तरमै कोरोनाको परीक्षणलाई तीव्रता दिनु हो ।

विश्वभरको अनुभवले पनि कोरोना परीक्षणको दरलाई नबढाएसम्म यसलाई नियन्त्रण गर्न नसकिने देखाएको छ ।

Source:Imagekhabar

0Shares