सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मार्ग २९ गते सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
सभापति शेरबहादुर देउवा मकवानपुरको विरोध सभालाई सम्बोधन गर्न पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा सम्बोधन गर्दैछन् ।उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दैछन् ।
अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र युवा नेता गगन थापा कैलाली पुगेका छन् ।