सिटिजन्स लाइफको बीमा दाबी अनलाईन मार्फत गर्न सकिने
काठमाडौ,जेठ २१ : सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत बीमा दाबी गर्न सकिने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेको हो । योसंगै सेवाग्राही र बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सक्नेछन ।
कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दाबी प्रकृया अगाडि बढाउन सक्नेछ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीको विश्वास छ । कम्पनीले डिजिटल अभियान अन्तर्गत आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए । ग्राहकहरुको सुविधालाई मध्यनजर कम्पनीले इ सेवा, फोन पे, कनेक्ट आइपीएस लगायतका डिजिटल बैकिङ प्रणाली मार्फत घरमै बसेर बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।