राष्ट्रिय

सीमा नाका र त्रिभुवन विमानस्थलमा कडाइ गर्न निर्देशन

0Shares

काठमाडौ,चैत ११: कोभिड–१९ को महामारीको दोस्रो लहर नेपालमा समेत पछिल्लो एक साता यता सङ्क्रमित हुनेको संख्या बढ्दो छ ।भारत उच्च सङ्क्रमण हुनेमा विश्वकै तेस्रो स्थानमा पुगिसकेका बेला नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना उच्च भएपछि स्वास्थ्य मन्त्रालयले आम सर्वसाधारणलाई पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । भारतमा सङ्क्रमण बढ्दा नेपालमा पनि निश्चित रूपले सङ्क्रमण बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।सङ्क्रमण बढ्न थालेसँगै मन्त्रालयले भारतसँग जोडिएका सीमा नाका र त्रिभुवन विमानस्थलमा कडाइ गर्न निर्देशन दिएको छ ।

भारतमा सोमबार मात्रै ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।हिजो मात्रै देशभर १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसअघि आइतबार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।चैत १ यता सङ्क्रमण निरन्तर बढ्दै गएको देखिन्छ । चैत १ मा ५३, चैत २ मा ७९, चैत ३ मा ११४, चैत ४ मा ९४, चैत ५ मा १०७, चैत ६ मा १२५, चैत ७ मा ७९, चैत ८ मा ७७ र चैत ९ मा १५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका नागरिकहरूलाई सामाजिक दुरी, स्यानिटाइजरको प्रयोग गर्ने र पटक पटक साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ ।मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न समेत निर्देशन दिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र खास गरी भारतसँग जोडिएका नाकाबाट भित्रिने मानिसहरूको हकमा कडाइ गरिएको छ ।स्वास्थ्य मन्त्रालयको सूचना अनुरूप गृह मन्त्रालयले भारतसँगका सबै खुला नाकामा कडाइ गर्न आफू मातहतका संयन्त्रहरूलाई निर्देशन दिइसकेको छ ।गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नाकाबाट भित्रिने हरेक मानिसको अभिलेख राखिने बताएका छन् ।त्यस्तै, नेपाल भित्रिने प्रत्येक मानिसको स्वास्थ्य चेक जाँच गर्ने र सो क्रममा कोरोना भाइरसको सङ्क्रमणसँग मिल्ने लक्षण देखिएमा अनिवार्य क्वारेनटिन बस्नुपर्ने र कोरोना परीक्षण गरिने भएको छ ।

0Shares