‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै
काठमाडौ,चैत १ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ। २०७६ सालमा हुनुपर्ने ‘सी’ डिभिजन लिग कोभिड–१९ महामारीको कारण रोकिएको थियो । १४ टिमले प्रतिस्पर्धा गर्ने ‘सी’ डिभिजन लिगमा ५२ खेल हुनेछ भने ३ टीम ‘बी’ डिभिजनमा बढुवा हुने आयोजकले जनाएको छ ।यस्तै एक टिम रेलिगेसनमा पर्नेछ। सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन्।
यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्त खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन ।